शर्मिला विश्वकर्मा, २१ चैत २०७३, काठमाण्डौं ।

नेपाल अपांग मानव अधिकार केन्द्र अपांगता भएका व्यक्तिहरुको हक, हित, मानव अधिकार संरक्षण प्रवर्द्धन र वकालत गर्ने उद्देश्यले विक्रम संवत् २०५६ सालमा अपांगता भएका युवाहरुको सक्रियतामा स्थापित एक गैरसरकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखी सूचना संचार, मानव अधिकार सचेतना, वकालत पैरवी, कानूनी सहायता, सामाजिक सरोकारका मुद्दाहरुलाई सर्वोच्च अदालत मार्फत न्याय दिलाउने, अपांगता भएका व्यक्तिहरुको आर्थिक क्षमता वृद्धि लगायतका कार्यहरु गर्दै आईरहेको छ । मिति २०७३ चैत २१ गते नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना र डि.डि.पि. यूके को सहयोगमा पश्चिम नेपालको तनहुँ, दाङ्ग, बर्दिया र सुर्खेत जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको गरीबी न्यूनिकरण गर्ने उदेश्यले सञ्चालन गरिएको “पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको गरीबी निवारण परियोजना” अन्तर्गत सन् २०१४ देखि सन् २०१७ सम्मको आय-आर्जन कार्यक्रम अन्तर्गत वर्षको अनुभव, मूल्याङ्कन एवं समिक्षा कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा “पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको गरीबी निवारण परियोजना” अन्तर्गत अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतका अध्यक्ष विष्णु शर्माले यो परियजनाले सुर्खेत जिल्लामा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको आय-आर्जनमा सहज भएको बताउनु भयो भने अपाङ्गता भएका व्यक्तिहरुको अधिकार विकासका लागि श्रोत केन्द्र (रिसेड) का अध्यक्ष मदन पौडेलले तनहुँ जिल्लामा यो परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण गर्न सहयोग गर्नुको साथै यो परियोजना सफल भएको बताउनु भयो । त्यसै गरि अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाँङ्गका निर्देशक चिन्तामणी पौडेलले यो परियजनाले दाङ्ग जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक विकासमा सहयोग गरेको बताउनु भयो ।

सो कार्यक्रममा उक्त कार्यक्रममा युवा स्वरोजगार कोषका सहायक कार्यकारी निर्देशक श्री प्रसाद पौडेलले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना र डि.डि.पि. यूके को सहयोगमा सञ्चालन गरेको यो “पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको गरीबी निवारण परियोजना”ले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण गर्न सहयोग गरेको बताउदै आगामी दिनमा युवा स्वरोजगार कोषले सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । यसै कार्यक्रममा डि.डि.पि. यूकेकी फन्टरेजिङ् अफिसर म्यागी ओवेनले “पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको गरीबी निवारण परियोजना”ले पश्चिम जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको गरीबी न्यूनिकरणका लागि सहयोग गर्नुको साथै अपाङ्गता भएका व्यक्तिहरुको आय-आर्जनले उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरेको बताउनु भयो ।

त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह-सचिव तथा अपाङ्ग प्रवर्द्धनशाखा प्रमुख महेन्द्र थापाले अपाङ्गता भएका व्यक्तिहरुको गरीबी न्यूनिकरणका लागि सरकारले सहयोग गर्नु पर्ने र आफ्नो मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनु भयो । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेडाइले यो परियजनाले ४ जिल्लका अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन आएको बताउनु भएको थियो भने संस्थाका महासचिव जगदिश प्रसाद अधिकारीले उक्त कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रममा“पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको गरीबी निवारण परियोजना” बाट लाभान्वित भएका तनहुँ, दाङ्ग, बर्दिया र सुर्खेत जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुसँग यो परियोजनाबाट उनीहरुको जीवनमा आएको सकारात्म परिवर्तनको बारेमा तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएको थियो । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले सञ्चालन गरेको “पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको गरीबी निवारण परियोजना” अन्तर्गतको कार्यहरु यस प्रकार उल्लेख गरिएको छ ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले सन् २०१४ अप्रिल देखि सन् २०१७ सम्मको लागि डि.डि.पि. युके.सँगको संयुक्त साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक स्तर उकास्ने उद्देश्यले “पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको गरीबी निवारण परियोजना” (जिपिएएफ परियोजना) ( GPAF) सञ्चालन गरेको थियो । यो परियोजना दाङ्ग जिल्लाको अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल, बर्दिया जिल्लाको अपाङ्ग पुनर्स्थापना केन्द्र, सुर्खेतको अपाङ्ग सशक्तिकरण केन्द्र र तनहुँको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार विकासका लागि श्रोत केन्द्र (रिसेड) गरी अपाङ्गता सम्बन्धी काम गर्ने ४ वटा स्थानिय जिल्ला साझेदार संस्थाहरुसँगको साझेदारीमा सञ्चालन भएको हो ।

ती सबै जिल्लाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि आय–आर्जन हुने खालका कार्यक्रमहरु अन्तर्गत बाख्रापालन, कुखुरा पालन, खुद्रा पसल, बंगुर पालन, तरकारी पसल, च्याउ खेती, साईकल मर्मत, धान कुट्ने मेशिन , फलफुल पसल, फर्निचर, मैनबत्ति निर्माण, फलामको काम, स्टेशनरी, सिलाई कटाईको काम, अदुवा खेती, सौन्दर्य सामाग्रीको पसल, फोटोकपी, चिया तथा खाजा पसल, मौसम अनुसारको तरकारी खेती, माछा पालन, जुत्ता बनाउने काम, विद्दुतिय रिक्सा सञ्चालन, मासु व्यवसाय गरी आय- आर्जन गर्न सफल भएका छन् । त्यसै गरी साङ्केतिक भाषाको तालिम, अपाङ्गता परिचय पत्र वितरण, सीपमूलक तालिम, आवश्यक सहयोगी सामाग्री वितरण गरी विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु घर परिवार तथा समाजमा पुनर्स्थापना भएका छन् । यो परियोजनाबाट ४ वटै जिल्लामा गरी प्रत्यक्ष रुपमा १५ सय जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु लाभान्वित भएका छन् ।

Links for this news: http://nepalpati.com/news/aya-arjan/#undefined.gbpl.

http://cnnenews.com/index.php?action=news&id=22892#.WOl_2mnyvIV

http://nagarikpost.com/allnepalkhabar/post/2017-04-04-03-40-14#.WOO-4SsP95Y.facebook